एमाले निकट आदिवासीलाई छैन पहिचानको चासो

काठमाडौं । पहिचान पक्षधर आदिवासी जनजातिहरु कोशी प्रदेशको नामाकरण खारेज गर्ने आन्दोलनमा केन्द्रित रहेका बेला नेकपा एमालेसँग आबद्ध आदिवासी जनजाति भने आफ्नो महाधिवेशनमा केन्द्रित भएका छन् ।

कोशी प्रदेशमा जारी आन्दोलनमा एमालेनिकट आदिवासी जनजातिको संस्थागत सहभागिता नरहेको सो संगठनले जनाएको छ । एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो महाधिवेशन चैत १९ र २० गते काठमाडौंमा हुँदैछ ।

२०६३ सालमा पृथ्वीसुब्बा गुरुङ संस्थापक भएर गठन गरिएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशन २०७३ मा भएको थियो । सो महाधिवेशनबाट पनि पिएस नै अध्यक्ष चुनिएका थिए ।

एमाले र माओवादीबीच एकपछि भने सुरेश आलेमगर अध्यक्ष र शेरबहादुर तामाङ महासचिव थिए । नेकपा विभाजनपछि अहिले गोकुल घर्ती संयोजक र पेम्बा भोटे महासचिव छन् । दोस्रो महाधिवेशनले १७ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

महाधिवेशनमा ७५ वटा जिल्ला, सातै प्रदेश र ५३ वटा जातीय घटक संगठनबाट एक हजार ४६५ प्रतिनिधिले भाग लिने महासचिव भोटेले जानकारी दिए । नेपालमा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये ५३ घटक एमालेमा आबद्ध छन् । त्यस्तै, अछाम र कालिकोटबाहेक सबै जिल्लामा महासंघको संगठन रहेको महासचिव भोटेले बताए ।

महाधिवेशनमा जातीय जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था छ । त्यस हिसाबले सबैभन्दा धेरै थारु,मगर,तामाङ र नेवारबाट प्रतिनिधित्व हुनेछ । महासंघको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनबाट सर्वसम्मत सम्भव नभए निर्वाचनबाट नेतृत्व चयन हुने बताइएको छ ।

महासंघको अध्यक्षका लागि आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष समेत रहेका पासाङ शेर्पा, हालका अध्यक्ष गोकुल घर्ती मगर, महासचिव पेम्बा गुरुङ भोटेसहित विजय लोप्चन, बालकृष्ण काउछा मगर र पूर्वमन्त्री नारदमुनी राना दाबेदार छन् । उनीहरुबीच सहमति नभए निर्वाचनको तयारी छ ।

@ नेपालप्रेसबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार