सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै, ३३ ढोका खोलियो

काठमाडौं : सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । शनिबार मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको बताइएको हो ।

शनिबार अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीहरूमा पनि पानीको सतह बढेको जानकारी दिएको छ ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी नदीको चतरामा जलसतह बढ्दो छ। यस्तै तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ । मध्याह्न १२ बजे कोसी ब्यारेज भएर दुई लाख दुई हजार चार सय ७५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको थियो । पानीको बहाव क्रमशः बढेसँगै ३३ ढोका खुला गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलिएका कारण उदयपुर, सुनसरी र सप्तरीको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा पर्ने गरेको छ ।
सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरी प्रशासनले कोसी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार