‘कामको प्रभावकारी अनुगमन नहुँदा समयमै नसकिने समस्या देखियो’

ओखलढुंगा : जिल्ला समन्वय समिति ओलखढुगांका प्रमुख डिल्लीराम खनालले विभिन्न योजनाको अनुगमन गरेका छन् । प्रमुख खनालले  स्याउ, किवि खेती, बाख्रा पालन जस्ता व्यवसायिक खेती र पशुपालन व्यवसायको अनुगमन गरेका हुन् ।

बर्षातपछि थप सडकका आयोजनाहरुको प्राविधिक टोलीसहित अनुगमन गर्ने उनले जानकारी दिए । अनुगमनका लागि स्रोत, साधन र आवश्यक प्राविधिक जनशक्ति समेत व्यवस्था भएपछि समन्वय समितिका पदाधिकारीहरूले प्रभावकारी अनुगमन गर्न सक्ने उनको भनाइ छ ।

विकासका कामको प्रभावकारी अनुगमन नहुँदा समयमै नसकिने र गुणस्तरीय नहुने वर्तमान अवस्थामा सुधार ल्याउन समन्वय समितिलाई मुख्य जिम्मेवारी रहेको खनालले बताए । जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाहरूबीच समन्वय गर्न, सरकारी कार्यालय र पालिकाहरूबीच समन्वय गर्न, विकास निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्था छ ।

मौजुदा कानुनले जि.स.स.लाई दिएका समन्वयकारी, अनुसन्धानमूलक, अनुगमन मूल्यांकन, क्षमता विकास लगायतका कार्य गर्न आर्थिक स्रोत नभएको खनालले गुनासो गरे । विकासमा लैङ्गिक, क्षेत्रगत, विषयगत र पर्यावरणीय सन्तुलन हासिल गर्न जिल्ला समन्वय समितिहरूको संस्थागत संरचनाको सुदृढीकरण, बजेटको व्यवस्था र कानुनी सुधारहरू गर्दै लानुपर्ने खनालको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार