मालपोत कार्यालय खिजीफलाटेले ३० लाख भन्दा बढी राजश्व संकलन गर्‍यो

काठमाडौं : ओखलढुंगा मालपोत कार्यालय खिजीफलाटेले आर्थिक वर्ष २०७८/७९ मा ३० लाख भन्दा बढी राजश्व संकलन गरेको छ । मालपोत कार्यालयले रजिष्ट्रेशन बापत १८ लाख ५४ हजार, पुजीगत लाभकर ११ लाख ९२ हजार र अन्य सेवा शुल्क २४ हजार गरी ३० लाख ७० हजार राजश्व संकलन गरेको हो ।

कित्ताकाटको काम रोकिँदा र आर्थिक मन्दीको कारण देखाउँदै बैंकहरुले ऋण प्रवाह नगरेपछि अहिले जग्गाको कारोबार नहुँदा पनि राजश्व संकलन घटेको कार्यालय प्रमुख लालबहादुर सुनुवारले बताए । भू–उपयोग नीति र ऐन अनुसार अब नेपालका जग्गाहरू विभिन्न १० खाले समुहमा वर्गीकरण हुने छन् । त्यसरी वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र छन् ।

भौगोलिक अवस्था, भूमिको क्षमता एंव आवश्यकताका आधारमा जग्गाहरूको वर्गीकरण गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रत्येक स्थानीय तहको “भू–उपयोग क्षेत्र नक्सा“ र त्यसको विवरण तयार पार्नुपर्ने छ । जग्गा वर्गीकरणका लागि मन्त्रालयले स्थानीय तहलाई पत्रचार गरीसकेको अवस्था छ ।

जग्गा वर्गीकरण भएपछि मात्र कित्ताकाँट गर्न पाइने बताइएको छ । यसपछि जग्गा सम्बन्धी कार्यक्रम अघि बढ्ने र राजश्व पनि सकंलन हुने सुनुवारले बताए । २०७५ सालमा स्थापना भएको मालपोत कार्यालयमा अहिले ७ जना कर्मचारी छन् । कार्यालय प्रमुख सहित २ जना कम्प्यूटर अपरेटर, र ४ जना कार्यालय सहयोगी गरी ७ जना कार्यरत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार