ओखलढुंगा कारागारमा क्षमताभन्दा बढी बैदीबन्दी,बस्नै समस्या

काठमाडौं : ओखलढुुंगा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएका छन् । ३० जनाको क्षमता रहेको कारागारमा ९० जना रहेका राखिएका हुन् ।

कारागारको क्षमता पुरुष १५ जना र महिला १५ जना अटाउने हो । तर,अहिले पुरुषतर्फ ५० जना कैदी र ३३ जना बन्दी गरी ८३ जना राखिएको जिल्ला कारागारले जनाएकाे छ । महिलातर्फ ५ जना कैदी र एकजना महिला बन्दी गरी ६ जना रहेका छन् । एक जना कैदी महिलाले कारागारमै बच्चालाई जन्म दिएकी छन् ।

उनको बच्चा अहिले ६ महिनाको भएको छ । बस्नमा महिला कैदीबन्दीहरुलाई कुनै समस्या नरहेको निमित्त जेलर एवं सिनियर अहेव नरेन्द्रलाल कर्णले बताए । पुरुषहरुलाई भने बस्न, शौचालय प्रयोग गर्न, खाना खान सबैमा समस्या भएको बताइएको छ ।

समस्याका बाबजुद कैदीबन्दीहरु सीपमुलक काममा व्यस्त हुने गरेका छन् । पुरुषहरु मुँढा बनाउने र महिलाहरु ढाका बुन्ने, मैन बत्ती बनाउने काम गर्ने गरेको कर्णले जानकारी दिए । मुँडाको माग उच्च रहेकाले माग पूरा गराउन सक्ने अवस्था नरहेको पनि जेलर कर्णले जानकारी दिए ।

कैदीबन्दीलाई मनोरञ्जनका लागि टेलिभिजनको व्यवस्था छ । पुरुषहरुको लागि २ वटा महिलाहरुका लागि एउटा डिसहोम टेलिभिजन राखिएको छ । उपन्यास, कानुनसँग सम्बन्धित पुस्तकहरु राखिएको पुस्ताकालय पनि रहेको छ । प्रदेश १ को आर्थिक मामला तथा कानुन मन्त्रालयबाट थप पुस्तकहरु प्राप्त भएको निमित्त जेलर कर्णले बताए । कैदीबन्दीको नियमित रुपमा स्वास्थ्यजाँच गर्ने गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार