सिद्धिचरणकाे वडा १२ मा अब यी ठाउँहरूमा मात्रै मोटरसाइकल पार्किङ पाइने

काठमाडौं : ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा-१२ ले मोटरसाइकल पार्किङ गर्नका लागि ठाउँ तोकेको छ । वडा कार्यालयले पार्किङ स्थल निर्धारण गर्नुका साथै बजार क्षेत्रमा विद्यालय जाने समयमा चार पाङग्रे सवारी साधन चलाउन नपाइने निर्णय गरेको छ ।

वडा कार्यालयले मोटरसाइकल पार्किङका लागि हुलाकटोलमा रहेको लक्ष्मी बैंकदेखि लालीगुँरास बोर्डिङ स्कुल जाने मोडसम्म एक साइट, लक्ष्मी बैंकदेखि कन्चन श्रेष्ठको घरसम्मको लागि शनिबार र बुधबार बाहेक हाट लाग्नेको १ नम्बर प्लटमा र साप्ताहिक बजार लाग्ने दिन शनिबार र बुधबार नगरपालिकाको भवन अगाडीको प्लटमा तोकेको छ ।

त्यस्तै, कन्चन श्रेष्ठको घरदेखि गणेशटोलसम्म पाटीको दुवैको साइटमा, गणेशटोलदेखि पाटीधारासम्मको लागि पाटी धाराको साइटमा, पाटी धारादेखि शेर्पा होटलसम्म खानेपानी कार्यालयको तल्लो साइटमा तोकेको हो । बजार क्षेत्रमा विहान ९ देखि १० बजेसम्म र दिउँसो ३ बजेदेखि साढे ४ बजेसम्म एम्बुलेन्स र सरकारी सवारी साधन बाहेक अन्य सवारी साधनहरु नचलाउने निर्णय भएको छ ।

बजार क्षेत्रभित्र खाद्यन्न तथा निमार्णका सामग्रीहरु ओसारपसार गर्नका लागि ट्रक, ट्रयाक्टर र टिपर जस्ता ढुवानी सवारी साधन साझ ६ बजेदेखि ८ बजेसम्म मात्र चलाउन दिने निर्णय गरिएको वडा कार्यालयले जनाएको छ । निमार्ण सामग्रीहरु राख्दा वडा तथा नगरपालिकाको स्वीकृति लिनुपर्ने, हटियामा बेचविखन गर्ने सामग्रीहरु शनिबार र बुधबार बाहेक उक्त स्थानमा स्टोर नगर्न वडाले भनेको छ । बजार क्षेत्रभित्र रहेको व्यवसायीहरुले सडकको पेटीमा विक्री वितरण गर्ने सामग्रीहरु नराख्न वडा कार्यालयले सुचना जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार