ओखलढुंगाको स्थानीय तहमा बेरुजुको चाङ,कुन पालिकामा कति बेरुजु ?

काठमाडौं  : ओखलढुंगाका स्थानीय तहहरुमा बेरुजु रकमको चाङ लागेको छ । स्थानीय सरकारका जनप्रतिनिधिले प्रभावकारी एवं नियम संगत योजना सञ्चालन गर्न नसक्दा करोडौँ रकम बेरुजु भएको महालेखा परीक्षकको कार्यालयले देखाएको हो ।

जिल्लामा १ नगरपालिका र ७ गाउँपालिकासहित ८ स्थानीय तह छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं प्रतिवेदनअनुसार स्थानीय तहको बेरुजु रकम बृद्धि हुँदै गएकाे हो । आर्थिक वर्ष २०७७/०७८ मा ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको ५ करोड ३१ लाख ३५ हजार बेरुजु देखिएको छ ।

मानेभञ्ज्याङ गाउँपालिकाको १ करोड ३२ लाख ५८ हजार बेरुजु देखिएको छ । स्थानीय तहमध्ये सबैभन्दा बढी सिद्धिचरण नगरपालिकाको र सबै भन्दा कम मानेभञ्ज्याङ गाउँपालिकाको बेरुजु देखिएको छ । दोस्रोमा चम्पादेवी गाउँपालिकाको ४ करोड ९७ लाख १४ हजार, तेस्रोमा मोलुङ गाउँपालिकाको ४ करोड ९० लाख ७२ हजार र चौथोमा सुनकोशीको ४ करोड ७५ लाख ४४ हजार रकम बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी पाँचौमा लिखु गाउँपालिकाको २ करोड ९१ लाख १६ हजार, छैटौमा खिजीदेम्बा गाउँपालिकाको २ करोड ६६ लाख ३४ हजार र सातौमा चिशंखुगढी गाउँपालिकाको २ करोड २८ लाख ४१ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । महोलखा परीक्षकको प्रतिवेदनमा नगरपालिका तथा गाउँपालिकामा स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दी अनुसार पदपूर्ति नभएको कारण विकास निमार्ण र सेवा प्रवाहमा प्रभावकारिता नआएको उल्लेख छ ।

त्यस्तै,महालेखा परीक्षकको कार्यालयले अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको औल्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार