‘अखाद्य वस्तु बेच्ने जो कोहीलाई कडा कारबाही हुन्छ’

ओखलढुंगा : जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलले अखाद्य वस्तुको विषयमा उपभोक्ताहरु सचेत हुनुपर्ने बताएकी छिन् । बजारमा पाइने अखाद्य वस्तुको उपभोगबाट स्वास्थ्यमा पर्ने असरका विषयमा आम नागरिकहरु स्वयंम सचेत हुन आवश्यक रहेको सिग्देलको भनाइ छ ।

म्याद गुज्रिएका तथा अखाद्य वस्तु मिसिएका सामानहरुको बेचविखनलाई नियन्त्रण गर्न बजार अनुगमनमा कडाइ गरिने सहायक प्रजिअ सिग्देलको भनाइ छ । प्रशासनले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरी म्याद गुज्रिएका खाद्य वस्तु बेचविखन गर्ने जो कोहीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रशासनले हिजो (सोमबार) मात्र सदरमुकामका केही पसल तथा होटलमा अनुगमन गरेको थियो । जिल्ला प्रशासनको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिसहितको टोलीले मिलन चोकका ११ होटल, पसल तथा मेडिकलहरुमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका बिस्कुट, सेनीटाइजर, कुरमुरे नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालयले विना दर्ता सञ्चालनमा रहेका होटेल तथा पसललाई दर्ताका लागि सुझाव दिइएको छ भने पसलहरुमा मुल्यसूचि प्रष्ट देखिने गरी राख्न निर्देशन दिइएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार