हर्कबोलले भने : कम्युनिष्ट पार्टीहरु पुन: एकताबद्ध हुनुपर्छ

काठमाडौं : नेकपा एमाले ओखलढुगांका उपाध्यक्ष एवं सभासद हर्कबोल राईले कम्युनिष्ट पार्टीहरु पुनः एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसको सन्दर्भमा पार्टीको नीति तथा सिद्धान्त जनताको पक्षमा भए मात्र स्थापित भएर जाने विचार उनले व्यक्त गरे ।

उनले भावी दिनमा कम्युनिष्टहरु पुनः एकताबद्ध हुने विश्वास सहित कार्यक्रम गरेर स्मृति दिवस मनाइएकोको जानकारी दिए ।

एमाले जिल्ला अध्यक्ष शंकर कट्वाल सहित जिल्ला कार्यसमितिका नेताहरुको उपस्थितिमा सदरमुकाममा समीक्षा गोष्ठी गरी पुष्पलालको योगदानलाई स्मरण गर्दै दिवस मनाइएको राईले जानकारी दिए ।

सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेको थियो ।

विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उनको शव समेत नेपाल ल्याउन दिएको थिएन । विसं १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्न उनले राजनीतिक यात्रा शुरु गरेको थियो ।

उनले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बनेका थिए । आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइँ लडेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार