चण्डेश्वरी विमानस्थल सञ्चालन गर्न पर्यटनमन्त्रीसँग २० करोड माग

काठमाडौं : ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले गाउँपालिका ३ स्थित चण्डेश्वरी विमानस्थल तत्काल सञ्चालन गर्न २० करोड बजेट माग गरेका छन् । गाउँपालिका अध्यक्ष शेर्पाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई माग पत्र पेश गर्दै विमानस्थल तत्काल सञ्चालन गर्न माग गरेको हो ।

अध्यक्ष शेर्पाले मन्त्रालयमा पेश गरेको माग पत्रमा निर्माणाधिन चण्डेश्वरी विमानस्थल परीक्षण उडान भएतापनि सञ्चालनमा आउन नसकेको उल्लेख छ ।
तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईको उपस्थितीमा २०७६ पौष ७ गते परीक्षण उडान भएको थियो । पूर्वाधारहरुको निर्माण तथा व्यवस्थापन हुन नसक्दा विमानस्थल घाँसे मैदानमा परिणत भएकाले उक्त विमानस्थल तत्काल सञ्चालनका लागि पूर्वाधार निर्माणमा चासो दिन पत्रमा भनिएको छ ।

विमानस्थलका लागि ग्राबेल तथा कालोपत्रे, टेवा पर्खाल, टर्मिनल भवन र कन्ट्रोल टावर तत्काल निर्माण गर्न भनिएको छ । त्यस्तै, तार घेरावार र सुरक्षा पोष्ट समेत निर्माण गर्न २० करोड रुपैयाँ बजेट व्यवस्था गरी दिन अनुरोध गरेको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए ।

त्यसभेगबाट पर्यटकहरुको आगमनमा अझ बृद्धि भई पर्यटन प्रवद्र्धन र स्थानीयको आर्थिक हैसियत समेत वृद्धि गर्न विमानस्थल नियमित सञ्चालनको विकल्प नभएको अध्यक्ष शेर्पाको भनाइ छ ।

मागपत्र बुझ्दै मन्त्री श्रेष्ठले विमानस्थल सञ्चालनका सम्वन्धमा आफू सकारात्मक रहेको र तत्काल सम्वन्धित निकायसँग परामर्श गरेर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार