भोलिदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि(सोमबार)देखि २७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको दोस्रो मात्रा खोप दिने भएको छ । मन्त्रालयले असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँच देखि ११ वर्षका बालबालिकालाई दोस्रो मात्रा खोप दिने जनाएको हो ।

नजिकैको विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगाउन सकिने मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । दोस्रो मात्रा खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लैजानु पर्ने छ । अधिकारीका अनुसार सोमबारदेखि प्रदेश १ का झापा, इलाम, मोरङ र सुनसरी, मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर जिल्लामा दोस्रो मात्रा खोप दिइने छ ।

यसैगरी, गण्डकी प्रदेशका कास्की र नवलपुर, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशका कैलाली कञ्चनपुर र डडेल्धुरामा खोप अभियान चलाइने मन्त्रालयले जनाएको छ ।बाँकी जिल्लामा भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार