काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले देशभर स्वास्थ्य सेवा विकेन्द्रित गराउनुपर्ने बताएकी छिन् । त्रिवि शिक्षण अस्पतालको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को ५० औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले नेपाल स्वास्थ्य प्रणालीमा आत्मनिर्भर हुन स्वास्थ्य संस्थाहरूको स्थापना गर्नुपर्ने आवश्यकता रहेको पनि बताइन् । उनले भनिन्,‘देशलाई स्वास्थ्य प्रणालीमा आत्मनिर्भर बनाउन स्वास्थ्य संस्थाहरूको स्थापना गर्न आवश्यक छ‚ स्थानीय स्तरबाटै आधारभूत स्वास्थ्य सेवा पाउने वातावरण बनाउन आधुनिक प्रविधिमा जोड दिनेदेखि चिकित्सक, नर्स तथा पारामेडिक्स आवश्यकता अनुसार प्रक्षेपण गर्नुपर्छ ।’
त्यस्तै, कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्याउन कठिन भएको उल्लेख गर्दै संविधानमा मौलिक हकका रूपमा स्थापित गरिएको आधारभूत स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनमा चुनौती थपिएको बताए ।