याे वर्ष एक हजार सामुदायिक विद्यालय बाढी पहिरोको जोखिममा

काठमाडौं : देशभरको करिब एक हजार सामुदायिक विद्यालय यस वर्षको बाढी पहिरोको जोखिममा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले पहिला भन्दा बढी औसत पानी पर्नेभएपछि विद्यालय संरचना जोखिममा रहेको जानकारी दिए ।

उनका अनुसार अघिल्लो वर्ष बाढी पहिरोले ९ सय विद्यालयमा क्षति पुगेको थियो। उनले भने,‘यस वर्ष झनै विज्ञहरुले औसतभन्दा बढी पानी पर्ने भनेको छ, त्यसैले यो वर्ष करिब एक हजार विद्यालय जोखिममा हुने देखिन्छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बाढी पहिरोबाट उच्च सावधानी अपाउन प्रदेश तहमा शिक्षा हेर्ने मन्त्रालय र ७ वटै प्रदेश,स्थानीय तह,७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वयलाई आग्रह गरेको छ ।

विकास केन्द्रले अत्यधिक वर्षाका कारण बाढी पहिरो र डुबान आदि जस्ता जोखिम रहन सक्ने खोला, नाला, ताल तलैया, नदी, पोखरी आदि नजिक रहेका वा गहिरो प्रकृतिको जमिनमा अवस्थित विद्यालयहरु बढी सतर्कता अपनाउनु भनेको छ ।

शिक्षा मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ४ सय ५४ सरकारी विद्यालय छन् । ​प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले देशभरीका सामुदायिक विद्यालय कस्ता–कस्ता प्राकृतिक प्रकोपका जोखिम छन् भनेर अध्ययन र आँकलन गर्ने कार्यक्रम सुरु गर्न लागेको जानकारी दिए ।

देशभरी जोखिम भएका विद्यालयमा सावधानी अपनाउन आग्रह र चेतना दिँदै आएको उनको भनाइ छ । उनले भने,‘प्रकोपबाट कसरी विद्यालय सुरक्षित पार्ने भनी काम थालनी गरिसकेका छौँ, ३२ जिल्लामा करिब ६ हजार विद्यालय पुनर्निर्माण गरेका छौँ, विद्यालयको प्रबलीकरण भइरहेको छ । ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार