विद्यार्थी बलात्कार प्रकरण : प्रधानाध्यापक पूर्णप्रसादसहित चार जना कारागार चलान

काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका-३ स्थित नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयालसहित चार जना जेल चलान भएका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले सोही विद्यालयमा अध्ययनरत बालिका विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई जिल्ला कारागार चलन गरिएको जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा लामो समयको अनुसन्धानपछि आरोपितहरु सिनपा-२ घर भएका नारायणस्थान माविका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुयाल, सिनपा-३ का ३२ वर्षीय डम्बर भुजेल, सोही वडाका ३१ वर्षीय केवल भुजेल र ७६ वर्षीय फडिन्द्र प्रसाद दाहाललाई पुर्पक्षका लागि थुनामा राख्न पठाइएको हो ।

उक्त विद्यालयमा अध्ययनरत १२ वर्षीय बालिकालाई विभिन्न प्रलोभन, डर र धम्की दिएर बलात्कार गरेको उनीहरुमाथि आरोप छ । प्रहरीले पीडित बालिकालाई फरक-फरक मिति र स्थानमा बलात्कार गरेको आरोपमा प्रअ सहित ४ जनालाई जेठ मसान्तमा पक्राउ गरेको थियो ।

उक्त अमानवीय पशुवत व्यवहार र घटनाप्रति भत्र्सना गर्दै नेविसंघ, विद्यार्थी युनियन लगायतका विद्यार्थी संगठनले विज्ञप्ती जारी गर्दै दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने र पिडित बालिकाले न्याय पाउनुपर्ने माग राख्दै आएका थिए । त्यस्तै अभिभावकहरूले पनि कडा भन्दा कडा कानुनी कारबाही गर्नुपर्ने माग राख्दै आएका थिए ।

प्रहरीले अझै उनीहरुमाथि लागेको आरोपबारे अनुसन्धान जारी राख्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार