काठमाडौं : नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानकर्षण गराएको छ । निगमले सोमबार दुवै निकायमा पत्राचार गर्दै आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको हो ।
‘विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन, मूल्य समायोजन पनि हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ,’निगमका कार्यकारी उमेश प्रसाद थानीले लेखेको पत्रमा उल्लेख छ ।
घाटा धान्नै नसकिने अवस्थामा पुगेको भन्दै निगमले यसबाट बच्नका लागि स्वदेशमा इन्धन खपत कम गर्नुको विकल्प नभएको पनि पत्रमा उल्लेख गरेको छ । निगमले चालु आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको भन्दै भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि जनाएको छ ।
निगमले घाटामा गएको भन्दै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य ह्वात्तै बढाएर क्रमशः प्रतिलिटर १ सय ९९, १ सय ९२ र १ सय ९२ रूपैयाँ तोकेको थियो । यसको चौतफी विरोध र आलोचनापछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।अहिले पेट्रोल प्रतिलिटर १ सय ७९ र डिजेल १ सय ६३ रूपैयाँमा काराेबार भइरहेकाे छ ।