एक दशकदेखि ओखलढुंगाको कारागार भवन जीर्ण,जोखिम मोल्दै कैदीबन्दी

ओखलढुंगा : जिल्लामा जीर्ण बनेको कारागार कार्यालय भवन वर्षायामको भलपानी र पहिरोले भत्किंने जोखिम बढेको छ ।

वर्षा सुरु हुनासाथ माथिल्लो क्षेत्रबाट आउने भलपानीले कारागार भवन भत्किने जोखिम बढेको हो । यसअघि कारागारको सुरक्षा पर्खाल भत्किएको थियो । जेलर रेवन्त दाहालले वर्षाको भलपानी व्यवस्थापन नहुँदा कारागारको जीर्ण सुरक्षा पर्खाल जतिबेला पनि भत्किने अवस्था रहेको  बताए ।

एकातर्फ कारागार भवन पुनर्निर्माणका लागि कारागार व्यवस्था विभागमा एक दशक अघिदेखि नै पटक–पटक ताकेता गरिएपनि सुनुवाइ भएको छैन । यस वर्ष पनि महिला कैदीबन्दीका लागि छुट्टै भवन निर्माणका लागि ताकेता गरिएको कारागार कार्यालयले जनाएको छ ।

अर्कोतर्फ, क्षमता भन्दा बढी कैदीबन्दी राखिँदा खाने, बस्ने, सुत्ने र शारीरिक व्यायाम गर्ने लगायतका कार्यमा समस्या देखिएको पत्रकार शुभकला राईले जानकारी दिइन् । ३० जनाको क्षमता भएको यो जीर्ण कारागार भवनमा अहिले ८१ जना कैदीबन्दी राखिएको छ । भवन २०४१ सालमा निर्माण भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार