पहिरोले मोलुङ गाउँपालिका ७ बाख्रे गाउँ उच्च जोखिम, १० घरपरिवार विस्थापित

ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका-७ पात्लेस्थित बाख्रे गाउँ लगातारको वर्षातका कारण पहिरोको उच्च जोखिममा परेको छ । गएराती गाउँकैबीचबाट पहिरो शुरु भएपछि जोखिम बढेको हो । पहिरोले स्थानीय खड्गबहादुर लामिछाने र लोकबहादुर लामिछानेको घरमा क्षति पुर पुर्‍याएको छ ।

त्यस्तै, स्थानीय शिक्षक इन्द्र खत्रीले लामिछानेको गोठमा बाँधेर राखेको एउटा भैँसी पहिरोले बगाएको जानकारी दिए । पहिरोका कारण बाख्रे गाउँका १० घरपरिवार विस्थापित भएको र सुरक्षित ठाउँको खोजिमा लागेको शिक्षक खत्रीको भनाइ छ । पहिरोले क्षति पुर्‍याएपछि इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी श्रीचौरको टोलीले क्षतिको विवरण संकलन गरेर लगेका छन् । ६० देखि ७० लाख बराबरको धनमाल र १५ घरपरिवारको खेतीयोग्य जग्गा बगाएर खेतीमा क्षति पुर्‍याएको वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए ।

अविरल वर्षा जारी रहेकाले बालबालिका आधारभूत विद्यालय बाख्रेको पुराना भवनलाई समेत क्षति पुग्ने संभावना बढेको जनाइएको छ । भरखरै निर्माण भएको सडकबाट शुरु भएको पहिरोले गाउँनै उच्च जोखिममा परेपछि स्थानीयहरु त्रसित बनेका छन् । विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्ने वा वैकल्पिक व्यवस्था के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

त्यस्तै, खिजीदेम्बा गाउँपालिकाका विभिन्न गाउँमा पहिरोले सडकमार्गमा क्षति पुर्‍याएको छ । पहिरोले काठमाडौंबाट खिजीफलाटे जोड्ने मूल सडकको वडा १ को रगनीमा दैनिक जसो सवारी अवरोध भइरहेको छ । अन्य धुले सडकहरुमा समेत क्षति पुर्‍याउँदा सर्वसाधारणलाई आवातजावातमा समस्या भएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए ।

दिनहुँ सडक अवरोध हुन थालेपछि अध्यक्ष शेर्पा आफै सडक सफाइमा जुटेपनि नियन्त्रणका लागि भने समस्या भइरहेको जनाएको छ । गाउँपालिकाभित्र साना ठूला गरी दर्जनौं ठाउँमा पहिरोले बाटो बगाएपछि जिल्ला प्रशासन कार्यालय र जलाधार कार्यालयलाई तारजाली माग गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

सदरमुकामबाट खिजीफलाटे जोड्ने वडा नं. ६ को भिरखर्क, बन्से, फेदी लगायतका ठाउँमा पहिरोले बाटो बगाउँदा यातायात सञ्चालन ठप्प भएको छ । जथाभावी सडक निर्माणकै कारणले पनि गाउँहरु पहिरोको उच्च जोखिममा परेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार