नेपालले एक महिनामा भारतलाई बेच्यो १ अर्ब ७२ करोडको बिजुली

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको जनाएको छ । प्रााधिकरणले गत १९ जेठबाट देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत आइएक्समा बिक्री सुरू गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुरूमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रूपमा आइएक्समा बिक्री गरिएको र पछि जेठ २७ गतेबाट दैनिक रूपमा ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको जानकारी दिए ।

जुन महिनामा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ । यस अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सबै शुल्क कटाएर खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालले गत वर्षबाट सुरू गरिएको भारतीय प्रतिस्पर्धी बजारमा विद्युत व्यापार यस वर्षबाट थप प्रभावकारी रूपमा अगाडि बढेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार