प्रत्येक वडामा सरकारले सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने

काठमाडौं : सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्‍याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ ।

बिहिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति २०७७/०७८ देखि २०८७/८८’  सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्डमा सामुदायिक नर्सिङको व्यवस्था गर्ने भएको हो ।

उक्त रणनीतिमा मातृ तथा नवशिशु स्वास्थ्य, ज्येष्ठ नागरिक र वातावरण स्वास्थ्यको व्यवस्था गर्न प्रत्येक वडामा सामुदायिक नर्सिङ जनशक्तिको व्यवस्था गर्ने उल्लेख छ ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ सबै ठाउँमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेमा जोड दिए । सबै क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पुर्‍याउने काम गर्नुपर्नेमा जोड दिँदै उनले संविधानमा उल्लेख भएअनुसारको स्वास्थ्य सेवा पुर्‍याउन राज्यले नसकेको समेत बताए ।

उनले भने,‘अहिले पनि चिकित्सक र नर्स चाहियो भनेर मन्त्रालयमा मानिस भन्न आउँछन्, देशभर समतामूलक सेवा पुर्‍याउन आवश्यक छ, रणनीतिले लिएको लक्ष्यअनुसार नर्सिङ सेवालाई गुणस्तरीय बनाउनुपर्छ ।’

नेपालमा ७५३ स्थानीय तहका छ हजार ७४३ वडा छन् । स्वास्थ्यमन्त्री खापुङको उपस्थितिमा आज दशवर्षे उक्त रणनीति सार्वजनिक गरिएको हो । अहिले नेपालमा दर्ता भएका नर्स ६८ हजार ३१६, मिडवाइफ २८, अनमी ३६ हजार ७५४ र विशेषज्ञ नर्सिङ ५९८ जना छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार