खिजिदेम्बाले बार्षिक १० जना पत्रकारलाई लेखनवृत्ति पुरस्कार प्रदान गर्ने

ओखलढुंगा : खिजीदेम्बा गाउँपालिकाले सञ्चारसँग सम्बन्धित विभिन्न अनुकरणीय नीतिहरु अघि सारेको छ । असार ८ गते सम्पन्न गाउँसभाले सञ्चार क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रमहरु पारित गरेको हो । अध्यक्षसँग पालिकाका कुरा कार्यक्रमार्फत जनताको चासो, गुनासो र जन सरोकारको विषयलाई समाधान गर्ने हेतुले घोषित कार्यक्रम कार्यान्वयनमा समेत आइसकेका छन् ।

शुक्रबार अध्यक्ष गम्बु शेर्पाले सोही कार्यक्रम अन्तर्गत सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणमा जोडिएर गाउँपालिकाका नागरिकको गुनासाहरुको सम्बोधन गर्ने प्रयास गरे । त्यस्तै,पालिकाले गाउँपालिकाले सम्पादन गरेका कार्यहरुको प्रगति विवरण, प्रतिवेदनलाई स्मारिकाको रुपमा नियमित रुपमा प्रकाशन गर्ने, सबै खाले सूचनाहरु वेवसाइट र सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने कार्यलाई नियमित बनाइने जनाइएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुको व्यवस्थापन र प्रोत्साहनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नीति समेत गाउँपालिकाले अघि सारेको छ । त्यस्तै, पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउनेहरुलाई सम्मान गर्ने, बार्षिक १० जना पत्रकारलाई लेखनवृत्ति पुरस्कार प्रदान गर्ने नीति तथा कार्यक्रममा समेटिएको प्रवक्ता राम सुनुवारले जानकारी दिए ।

त्यस्तै, स्थानीय सञ्चारमाध्यमको स्थापनामा लाग्ने करमा विशेष छुट दिने नेपाल पत्रकार महासंघ जिल्ला शाखाको संस्थागत विकासका लागि बजेट व्यवस्थापन गर्ने र महासंघसँगको समन्वयमा पत्रकारिता तालिम आयोजना गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार