न्यायाधीश र वकिलको घुस डिल प्रकरण : छानबिन गर्न जाँचबुझ समिति गठन

काठमाडौं । घुस प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन भएको छ ।

न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीले न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहने गरी जाँचबुझ समिति गठन भएको जानकारी दिए ।

उनका अनुसार ४५ दिनको समय दिएर प्रतिवेदन पेस गर्न जिम्मेवारी तोकिएको छ ।

सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्ने र त्यसका लागि २ करोड घुस दिने विषयमा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालासँग डिल गरेको अडियो एक टेलिभिजनले मंगलबार समाचार प्रसारण गरेको थियो । त्यसपछि उनी घुस प्रकरणमा मुछिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार