अफगानिस्तानमा भूकम्पबाट ९२० जनाको मृत्यु‚ १५०० घाइते

एजेन्सी : पूर्वी अफगानिस्तानको ग्रामीण तथा पहाडी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ९२० जनाको मृत्यु भएको छ । १५०० जना घाइते भएकाे अफगानिस्तानका आपत्‌कालीन सेवाका अधिकारी शराफुद्दिन मुस्लिमले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । समाचार एजेन्सी ‘बख्तर’का महानिर्देशक अब्दुल वाहिद रायनले ट्वीट गर्दै पक्तिकामा ९० घर ध्वस्त भएको र धेरै मानिस भग्नावशेषमुनि पुरिएको बताएका छन् ।

उद्धार टोली भूकम्पबाट सबैभन्दा बढी प्रभावित पक्तिका र खोस्त प्रान्तका दुर्गम क्षेत्रमा अझै पुग्न सकेको छैन । धेरै तालिबान अधिकारीहरूले राहत र उद्धार टोली भूकम्प प्रभावित धेरै क्षेत्रमा पुग्न प्रयास गरिरहेको बताएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार अफगानिस्तानमा बुधबार बिहान ६.१ रिएक्टर भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु खोस्त शहरबाट ४६ किलोमिटरपूर्व पाकिस्तानी सीमा नजिक रहेको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमहरुले भूकम्पको धक्का यति शक्तिशाली थियो कि माटोले मात्र होइन, सिमेन्टले बनेका घरहरू पनि तासको घर जस्तै गरी ढलेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार