सरकारले अघि सार्‍यो हाइड्रोजन प्लान्ट बनाउने योजना

काठमाडौं : सरकारले हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यताबारे छलफल अगाडी बढाएको छ । मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो ।

अर्थमन्त्री शर्माले छलफलमा एक सय मेगावाटको हाइड्रोन प्लान्ट निर्माणको गृहकार्य अघि बढाउनुपर्ने बताए । उनले विकसित देशहरुमा धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालेको बताउँदै तत्काल एक सय मेगावाटको हाइड्रोजन प्लान्ट बनाउने विषयमा आवश्यक अध्ययन र प्राविधिक सहयोग जुटाउने कार्यमा संलग्न हुन केयूका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

उनले छलफलमा भने,‘हाइड्रोजन प्लान्ट लगाउने विषयमा अर्थ मन्त्रालयको तर्फबाट पनि केही तयारी गर्छौं,केयूका पदाधिकारी पनि तयारी गर्नुस्, हप्ता-दश दिनभित्र पुनः अर्को बैठक बसौं ।’

छलफलमा ग्रीन हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापाले एकसय मेगावाटको ग्रीन हाइड्रोजन प्लान्ट डेढ वर्षमा तयार गर्ने गरी अन्तर्राष्ट्रिय कम्पनीहरुले प्रस्ताव गरिरहेको  बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार