काठमाडौंमा हैजा संक्रमण पुष्टि हुनेको संख्या चार पुग्यो,जोखिम बढ्दै

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको छ । सानेपा र सिन्धुपाल्चोकमा बस्ने मानिसमा हैजा पुष्टि भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको हो ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले काठमाडौं उपत्यकामा हैजा फैलिसकेको संकेत गरेका छन् । यसअघि पनि बागबजारमा बस्ने दुई जना दिदी-बहिनीमा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले अहिले हैजा पुष्टि भएको क्षेत्र काठमाडौंको बागबजार क्षेत्रको नमुना संकलन गरिरहेको छ । विज्ञका अनुसार भाइब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने यो रोग पानीजन्य सरुवा रोग हो ।

दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा यो रोग सर्छ । संक्रमण भएको एक घन्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् । निरन्तर सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाका माध्यमबाट जाने, अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाउँडिने, वान्ता हुने, थकाइ महसुस हुने हैजाका लक्षणहरु हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार