व्यवसाय प्रर्वद्धनका लागि ओखलढुंगामा तीन दिन होटल तालिम सञ्चालन

काठमाडौं : ओखलढुंगा जिल्लामा होटल व्यवसाय प्रर्वद्धनका लागि तीन दिन तालिम सञ्चालन भएको छ । सिद्धिचरण नगरपालिकाको आर्थिक सहयोग र होटल व्यवसायी संघ ओखलढुंगाको समन्वयमा ३ दिने कार्यक्रम तालिम सञ्चालन भएको हो ।

होटल व्यवसायी संघका अध्यक्ष थगेन्द्रराज राईले होटल व्यवसाय प्रर्वद्धन तथा गुणस्तर सुधारका लागि हस्पिटलिटी तथा होटल म्यानेजमेन्ट सम्बन्धी सीप प्रदान गर्न तालिम सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार नगरपालिकाको २ लाख ५० हजार आर्थिक सहयोगमा होटल व्यवसाय प्रवर्दन तथा गुणस्तर सुधारका लागि हस्पिटलिटी तथा होटल म्यानेजमेन्ट सम्बन्धी सीप प्रदान गरिएको हो ।

तालिम सोमबारबाट सकिएको छ । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धिचरण नगरपालिका प्रमुख तेजेन्द्र खनालले पछिल्लो समय सदरमुकाम सहित जिल्लाका बजार क्षेत्रमा सुविधासम्पन्न होटल गेष्टहाउसहरु सञ्चालनमा आउनुले पर्यटन प्रवर्दनमा सहयोग पुगेको बताए ।

तालिममा सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याङ गाउँपालिका, सुनकोसी गाउँपालिका, खिजिदेम्बा गाउँपालिका र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका गरि ५४ जना होटल व्यवसायीलाई प्रशिक्षक सबिता परियार र रोशन श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार