बलात्कारका आरोपी मनोजलाई अदालतले पठायो थुनामा

काठमाडौं : बलात्कारका आरोपी मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सोमबार मनोज पाण्डे भनिने मनोजकुमार जैशीलाई मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको कसूरमा पुर्पक्षका लागि थुनामा पठाएको काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।
उनका अनुसार पाण्डेमाथि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरिएकोमा जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि सदरखोर डिल्लीबजार पठाएको हो ।

८ वर्षअघि भएको सुन्दरी प्रतियोगितामा आफूमाथि बलात्कार भएको भन्दै एक नाबालिकाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जेठ ८ र ९ गते पाण्डेविरुद्ध दुई वटा उजुरी परेपछि स्वयम्भुबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

निवेदनमा धाकधम्की दिएर झुक्याइ नसालु पदार्थ खुवाएर बेहोस बनाएको र नियन्त्रणमा राखेर बलात्कार गर्नुका साथै वेश्यावृत्तिमा लगाउने गरेको आरोप पाण्डेमाथि छ । जाहेरी दर्तापछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानलगत्तै प्रहरीले पाण्डेविरुद्ध जेठ २७ गते मानव बेचबिखन तथा ओसारपसार र जेठ ३० गते बाल यौन दुरुपयोगको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार