जनावर आक्रमण : दुई महिनामा ३६ घटना, ११ जनाको मृत्यु

काठमाडौं : मुलुकभर वैशाखदेखि हालसम्म जनावर आक्रमणका ३६ घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । एकजना अझै बेपत्ता रहेका छन् ।

गत बिहीबार चितवनमा निगुरो टिप्न गएकी भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको बाघको आक्रमणबाट मृत्यु भएको थियो । बाघले बस्नेतको शरीरको भाग खाइरहेको अवस्थामा फेला परेपछि सो बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

उनका अनुसार बिहान ७ बजे निगुरो टिप्न गएकी बस्नेतलाई स्थानीय राधाकृष्ण सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो। आक्रमण भएको स्थानभन्दा ३०० मिटर पश्चिममा टाउको र छातीको भाग खाइसकेको अवस्थामा बस्नेतको शव भेटिएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठका अनुसार बाघलगायत अन्य जन्तुले आफूलाई असुरक्षित महशुस भयो भने मान्छेलाई आक्रमण गर्छन्। बूढो वा घाइते बाघ भए गाईभैँसीलाई आक्रमण गर्छ र त्यतिवेला मानिस देखिए आक्रमण गर्छ । त्यस्तै,पोथी बाघले बच्चा लिएर हिँडेको बेला असुरक्षित महशुस गरेर आक्रमण गर्ने गरेको उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार