राज्यले श्रम शोषण गरेको भन्दै विद्यालय कर्मचारीले बुझाए गाउँपालिकाका अध्यक्षलाई ध्यानाकर्षण पत्र

ओखलढुंगा : खिजीदेम्बाका विद्यालय कर्मचारीले राज्यले श्रम शोषण गरेको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । खिजीदेम्बा गाउँपालिकामा ज्ञापन पत्र बुझाउँदै कर्मचारीहरुले आफूहलाई उचित ज्याला नदिएर श्रम शोषण गरेको भन्दै ध्यानाकर्षण गराएको हो ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई बुझाइएको ध्यानाकर्षण पत्रमा कर्मचारीहरुले लामो समयदेखि राज्यले आफूहरुलाई काम लगाउने तर उचित पारिश्रमिक नदिने गरेको, न्यून ज्यालामा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म काम गर्न बाध्य पारेको, विद्यालयको ढोका खोल्ने, सरसफाई गर्ने, हरेक आवश्यक व्यवस्थापनमा उपस्थित हुनुपर्ने, घण्टी बजाउने मात्रै नभएर कक्षा कोठामा गएर पढाउन वाध्य पारिएको उल्लेख छ ।

सरकारले श्रमिकको न्यूनतम् पारिश्रमिक तोके पनि आफैले कार्यान्वयन नगरेर कानूनको धज्जी उढाएको पत्रमा उल्लेख छ । कर्मचारीहरुलाई ११ हजार ५ सय, बालविकास कार्यकर्ता र सहयोगी कर्मचारीलाई मासिक ८ हजार सुविधा दिएर काम लगाएकाले श्रम शोषण भएको उनीहरुको बुझाइ छ ।

उनीहरुले आफूहरुलाई जिम्मेवारी सहायक लेखापाल भनेर दिइएपनि कतिपय विद्यालयमा जवरजस्ती पढाउन लगाएको समेत पत्रमा उल्लेख गरेका छन् । लामो समयदेखि विद्यालयमा सेवारत रहँदापनि राज्यले नै तल्लो दर्जाको रुपमा लिएकाले यस खाले विभेद अन्त्यका लागि पहल गर्न कर्मचारी संगठनले गाउँपालिकालाई अनुरोध गरेको छ ।

चालू आर्थिक बर्षमा कर्मचारी र सहयोगीहरुलाई संघीय सरकार र स्थानीय सरकारले सुविधा मिलाएर सम्मानजनक रुपमा उपलब्ध गराउने बजेटमा घोषणा भएपनि हालसम्म त्यो कार्यान्वयन नभएकाले तत्काल कार्यान्वयन गर्न समेत उनीहरुको माग छ ।

विद्यालय कर्मचारी संघर्ष समितिले कम्तीमा सरकारी कार्यालयका सहयागी सरह कार्यालय सहयोगी सहजकर्ताको र प्राथमिक तहको शिक्षक तलवमान सरह सहायक लेखा कर्मचारीहरुको पारिश्रमिक हुनुपर्ने माग गरेको अध्यक्ष अतित सुनुवारले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष शेर्पाले भरखरै नेतृत्वमा आएकाले धेरै कुराहरु अध्ययन गनु बाँकी रहेको र कर्मचारीहरुको समस्यालाई समाधान गर्न आफू सकारात्मक रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार