ओखलढुंगाका स्थानीय तहलाई योजना कार्यक्रम सकाउने चटारो

ओखलढुंगा : सिद्धिचरण नगरपालिकाले विभिन्न योजना कार्यक्रमको भुक्तानी लिने समयसिमा तोकेको छ । असार २० गतेभित्र योजना तथा कार्यक्रमहरुको भुक्तानी लिइसक्नुपर्ने गरी सिमा तोकिएको हो । नगरपालिकाले शसर्त अनुदान चालु र पूँजीगतको असार १७ गते, नगरपालिका र वडा कार्यालयका योजना तथा कार्यक्रमको असार १८ गते र नगरपालिकाको व्यायभार भएका अन्य योजना तथा कार्यक्रमको भुक्तानी सिमा असार २० गतेसम्मलाई तोकेको आर्थिक प्रशासन शाखाका सह लेखापाल राजेन्द्र प्रसाद ढुंगानाले जानकारी दिए ।

आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्था अनुसार असार २४ गतेसम्म आर्थिक बर्ष २०७८/०७९ को सम्पूर्ण आर्थिक कारोबार वैंक हिसाव मिलान समेत गरी सम्वन्धित निकायमा प्रतिवेदन पेश गर्नुपर्ने भएकाले भुक्तानीको सिमा तोकिएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार दाहालले जानकारी दिए ।

योजना तथा कार्यक्रमको भुक्तानीको लागि आवश्यक प्रक्रिया पुरयाई विल, भरपाई लगायतका कागजात संलग्न राखी तोकिएको अवधिभित्र आर्थिक प्रशासन शाखामा अनिवार्य सम्पर्क राख्न समेत नगरपालिकाले कर्मचारी, व्यक्ति, संस्था, फर्म, कम्पनीलाई अनुरोध गरेको छ । तोकिएको सीमाभित्र भुक्तानी नलिएमा नगरपालिका जवाफदेही नहुने समेत जनाइएको छ ।

त्यस्तै, चिशंखुगढी गाउँपालिकाले असार २० गतेभित्र सबै योजनाहरु फरफराक गर्ने निर्णय गरेको छ । गाउँपालिकाले असार २० गतेलाई योजना तथा कार्यक्रम सम्पन्न गर्ने समयसिमा तोक्ने निर्णय गरेको छ । गाउँपालिकासँग सम्झौता गरी सञ्चालनमा रहेका योजना कार्यक्रमहरुको समयसीमाभित्र सम्पन्न गरी भुक्तानी दिन गाउँपालिकाले सबै संयन्त्र परिचालन गरेको प्रमुख प्रशासकीय अधिकृत लोकमणि खनालले जानकारी दिए ।

तोकिएकै समयावधिभित्र योजना तथा कार्यक्रमहरु अनिवार्य रुपमा सम्पन्न गरी गाउँपालिकामा सम्पर्क गर्न र सम्पन्न भइसकेकाले अन्तिम भुक्तानीका लागि प्रक्रिया अघि बढाउन समेत अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत खनालद्धारा जारी सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार