नेपालमा मंकीपक्सका शंकास्पद बिरामी भेटिए,टेकुमा उपचार हुँदै

काठमाडौं : नेपालमा ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण देखिएको हो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार २७ वर्षीय ती युवक दुबईबाट हालै नेपाल आएका थिए । उनलाई टेकु अस्पतालमै भर्ना गरेर उपचार भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको स्रोतले जानकारी दियो ।

‘बिरामीको हिस्ट्री लिँदा सात दिनदेखि लगातार ज्वरो आएको पाइएको छ,उनमा ‘मंकीपक्स’ लक्षण देखिएकोले हेल्थ डेस्कले टेकु पठाएको थियो,शरीरमा ‘मंकीपक्स’ भाइरसको जस्तो धेरै राता फोका छन्,’ती चिकित्सकले भने ।

यो भाइरस पश्चिम र मध्ये अफ्रिकाका केही भागमा संक्रमित जंगली जनावरहरूमा पाइएको थियो । यो भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरूमा देखिएको थियो । त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो ।

पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार मंकीपक्स एउटा दुर्लभ किसिमको रोग हो, जुन मंकीपक्स नामक भाइरसका कारण हुन्छ । यो भाइरस दादुरा गरउने बेरियोला भाइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार