ओखलढुंगाको जिससमा कांग्रेसका खनालसहित प्यानल निर्विरोध निर्वाचित

ओखलढुंगा : जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसबाट प्रमुखमा डिल्लीराम खनाल र उपप्रमुखमा तारा कार्कीले मनोनयन दर्ता गरेपनि अन्य पार्टीबाट उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध चयन भएका हुन् ।

जेठ ३० गते हुने समन्वय समितिको निर्वाचनका लागि खनाल र कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका थिए । त्यस्तै, सदस्यहरुमा भीमकुमार गौतम, बद्री कार्की, राजबाबु किराती, भिम कुमारी कटवाल, भिम कुमारी विक, गोपालमान थापा र मैया सुनुवार निर्वाचित भएको सिद्धिचरण नगरपालिका वडा १२ का अध्यक्ष उमंग श्रेष्ठले जानकारी दिए ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट ओखलढुंगामा नेपाली कांग्रेसले जिल्ला समन्वय समिति गठनका लागि स्पष्ट बहुमत प्राप्त गरेको छ । स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा नेपाली कांग्रेसको तर्फबाट नौ जना मतदाता छन् । एक नगरपालिकासहित ७ गाउँपालिकाबाट १६ जना मतदातामध्ये कांग्रेस एक्लैको नौ जना मतदाता रहेका छन् । यसैगरी नेकपा एमालेको पाँच, माओबादी केन्द्र र जनता समाजबादी पार्टीबाट एक–एक जना छन् ।

नेपाली कांग्रेसले मानेभञ्ज्याङ र सुनकोशी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै जितेको छ । यसैबीच सिद्धिचरण नगरपालिकामा प्रमुख, खिजिदेम्बामा उपाध्यक्ष, चिशंखुगढीमा उपाध्यक्ष, लिखुमा अध्यक्ष र चम्पादेवी गाउँपालिकामा अध्यक्ष कांग्रेसले जितेको छ।

नेकपा एमाललेले मोलुङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै लिखुमा उपाध्यक्ष, चम्पादेवी गाउँपालिकामा उपाध्यक्ष र सिद्धिचरण नगरपालिकामा उपप्रमुख जितेको छ । माओबादी केन्द्रले चिशंखुगढीको अध्यक्ष र जनता समाजबादी पार्टीले खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष जितेको छ ।

ओखलढुंगामा जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेसको एकल बहुमत पुगेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका सभापति तेजन खनाल (तेन्जेन्द्र)ले बताए । २०७४ सालमा पनि ओखलढुंगामा नेपाली कांग्रेस एक्लैले जिसस गठन गरेको थियो । जिल्लाका ७५ वडामध्ये नेपाली कांग्रेस ४५, नेकपा एमाले २०, माओबादी केन्द्र आठ र जनता समाजबादी पार्टीले दुई वडा जितेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार