धनुषाका यी सात पालिका बाढीजन्य विपद्को उच्च जोखिममा

काठमाडौं : बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ स्थानीय तहमध्ये सात वटा पालिका उच्च जोखिम छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न नदीमा आउने बाढीका कारण नदी आसपासमा पर्ने धनुषाको सात वटा पालिका उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिका सभापति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाको कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिका बाढीजन्य विपद्को हिसाबले उच्च जोखिममा रहेको जानकारी दिए ।

उनका अनुसार बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानीय तहका विभिन्न वडाले बर्सेनि डुबान र कटानको समस्या भोग्दै आएका छन् । तर,अझैसम्म पनि दीर्घकालीन समस्या समाधान हुन सकेको छैन् । जिल्लाको जनकपुरधाम उपमहानगरापालिका, गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, विदेह नगरपालिका र औरही गाउँपालिका बाढीजन्य विपद्को दृष्टिले मध्यम जोखिममा छन् ।

बर्षेनी कमला खोला, जमुना खोला, औरही खोला, बहरी खोला, बसही खोला र जलाद खोलामा आउने बाढीका कारण ठूलो धनजनको क्षति पुर्‍याउँदै आएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । उनका अनुसार अघिल्लो वर्ष बाढी पहिरोका कारण धनुषामा चार जनाको मृत्यु भएको भएको थियो भने करिब डेढ करोड मूल्य बराबरको धनमाल क्षति भएको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विपद् कसैलाई सोधेर वा भनेर नआउने भएकाले विपद्को समयमा सचेत भई त्यसबाट हुन सक्ने क्षतिलाई कम गर्न सकिने बताउँदै अहिले पनि पूर्व अभ्यास गरिरहेको जानकारी दिए ।

जनकपुरधाम पनि विभिन्न नदीहरूको कारण बाढीको जोखिममा रहेकाले नदी नियन्त्रणका लागि प्रयास गर्ने उनको भनाइ छ । त्यस्तै,धनुषाका प्रमुख जिल्ला अधिकारी पौडेलले विपद् व्यवस्थापनका लागि तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको र स्थानीय तहहरू पनि विपद् न्यूनीकरणका लागि आवश्यक योजना, कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

स्थानीय तहको सरकारलाई पनि विपद् व्यवस्थापनमा सक्रिय बनाउन छिट्टै पालिका प्रमुखको बैठक बोलाएर थप विपद् नियन्त्रणका लागि निर्णय लिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार