मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने खिजीदेम्बा गाउँपालिकाको निर्णय

ओखलढुंगा : खिजीदेम्बा गाउँपालिकाले मातृभाषा सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । १५ औं गणतन्त्र दिवसको अवसरमा नवनिर्वाचित अध्यक्ष गम्बु शेर्पाले विभिन्न जातजातिको मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार वडाहरुमा सुनुवार, तामाङ र शेर्पा मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग अनिवार्य गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण पुरीले जानकारी दिए ।
वडा कार्यालयहरुमा सरकारी कामकाजको भाषा मातृभाषा लागू भएका वडाहरुमा १, २, ३, ४ र ५ मा सुनुवार, २, ४, ५ र ६ मा तामाङ र २, ६, ७, ८ र ९ मा शेर्पा मातृभाषा लागू हुनेछ ।
वडाहरुमा सरकारी कामकाजको भाषा स्थानीय जातजाति, समुदायको उपस्थिति जनसंख्याको आधारमा बाहुल्यता रहेको जातजातिको मातृभाषाको रुपमा अनिवार्य रुपमा प्रयोग गर्ने अध्यक्ष शेर्पाले घोषणा गरे ।

यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि गाउँपालिकामा भाषा अनुबादक विज्ञ नियुक्त गर्ने नीति अघि सारिएको छ । अध्यक्ष शेर्पाले मातृभाषा प्रयोगका सम्वन्धमा आवश्यक कानुनी प्रावधान मिलाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने समेत निर्णय गरेको बताए । खिजीदेम्बा गाउँपालिका शेर्पा समुदायको बाहुल्यता रहेको गाउँपालिका हो ।

भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्ने र भाषिकीहरुको सम्मानका लागि मातृभाषा प्रयोगलाई अनिवार्य गरेको जनाएको छ । गाउँपालिकाको वोर्डमा सामभोट लिपी प्रयोग गर्ने समेत अध्यक्ष शेर्पाले जानकारी दिए । राष्ट्यि भाषा आयोग, आदिवासी जनजाति आयोग समेतको सिफारिसमा स्थानीय समुदायको मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने भनि नेपाल सरकारलाई सिफारिस गरेको जनाइएको छ । त्यस्तै,गाउँपालिकाले शैक्षिक क्षेत्रलाई ध्यानमा राख्दै सरकारले निर्णय गरेको साताको दुई दिने बिदा विद्यालयमा लागू नगर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार