सरकारले भन्यो – नेपालमा मंकीपक्स रोगको जोखिम बढ्यो,सचेत रहनू

काठमाडौं : सरकारले विश्वका धेरै मुलुकमा देखापरेको मंकीपक्स रोगले नेपाल पनि जोखिममा रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मंकीपक्सका सङ्क्रमित फेला भने नपरेको बताए । तर,नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने उनले बताए ।

उनका अनुसार यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीका र्‍याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ । यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरीरमा प्रवेश गरेर पनि सर्ने गर्दछ। बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्दछ ।

ज्वरो आउनु, सामान्य ज्वरो शुरु भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिनुजस्ता यस रोगमा लक्षण देखा पर्ने मन्त्रालयका डा.अधिकारीले जानकारी दिए ।

बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखापर्ने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार