बजेट तर्जुका लागि ओखलढुंगामा गोष्ठी


ओखलढुंगा : जिल्लामा आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा गरिएको योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९/८० को बजेट तर्जुमा सम्वन्धि छलफल तथा अन्तक्र्रिया कार्यक्रम स्वास्थ्य मन्त्री जयराज यादवको विशेष उपस्थितीमा सम्पन्न भएको हो ।

गोष्ठीमा जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, राजनैतिक दलहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. अनुज भट्ट चनले बजेट तर्जुमा र प्रदेशको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रममा स्थानीय निकायका प्रमुखहरुले पहुँचका आधार भन्दा पनि आवश्यकताको आधारमा प्रदेशले बजेट विनियोजन गर्नुपर्ने, आर्थिक भार पर्ने गरी बजेट निर्माण गर्नु नहुने, राजस्व बाँडफाँड तथा वित्तीय समाणीकरणका सम्वन्धमा स्पष्ट योजना निर्माण गर्नुपर्नेमा जोड दिए ।
कतिपय योजनाहरु स्थानीय तह, प्रदेश र संघबाट बजेट विनियोजन हुँदा दोहोरोपनपर्ने समस्या भएकाले पहुँचका आधारमा बजेट विनियोजन गर्ने पद्धतिको पूर्ण रुपमा अन्त्य हुनुपर्नेमा प्रतिनिधिहरुको जोड थियो । कतिपय योजनाहरु स्थानीय आवश्यकता भन्दा पनि कार्यकर्तामुखि रहने गरेकाले यसबाट वित्तीय अनुशासन तोडिने र समृद्धि पनि हासिल गर्न नसक्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा मन्त्री यादवले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जनप्रतिनिधिहरु शासक हैन सेवक हुनुपर्नेमा जोड दिए । वित्तीय अनुशासन कायम गर्न एकद्धार प्रणाली र स्थानीय तहको समन्वयमा आगामी बजेट निर्माण र योजना छनौट गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री यादवको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार