‘मानव अधिकार सुनिश्चित गर्न सबैको भूमिका उत्तिकै महत्वपूर्ण’


ओखलढुंगा : जिल्लाका सरोकारवालाहरुले मानव अधिकार सुनिश्चित गर्नको लागि सबैको भूमिका उत्तिकै महत्वपूर्ण  रहने बताएका छन् । बिहिबार राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ स्थापना दिवशको अवसरमा मानव अधिकार आयोग प्रदेश शाखा खोटाङले सदरमुकाममा आयोजना गरेको एक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेकपा एसका नेता नेत्र भट्टराईले विशेष गरी विकट क्षेत्रमा हुने मानव अधिकार उल्लंघनका घटनाहरु सम्बन्धित निकायमा नपुग्दा नियन्त्रण गर्न समस्या हुने गरेको बताए । यस्तै,प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्लाका सबै सरोकारवाला निकायले शसक्त भएर आफ्नो जिम्मेवारी बहन गरे जिल्लाको मानव अधिकारको अवस्थामा गुणात्मक सुधार हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल तेजेन्द्रले मानव अधिकार उल्लङघनलाई कम गर्न मानव अधिकार आयोग सँगै मिलेर काम गर्न स्थानीय सरकार तयार रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लले ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संक्षिप्त मानव अधिकार अवस्था प्रस्तुत गरे ।

उनले मानव अधिकार आयोगले गर्ने काम कर्तव्य र अधिकारको बारेमा जानकारी गराए । कार्यक्रमका अन्य वक्ताहरुले पनि मानव अधिकार उल्लंघनका घटनालाई न्यूनिकरण गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार