ओखलढुंगामा रासायनिक मलको चरम अभाव,अवैध रुपमा मल बिक्रिवितरण

ओखलढुंगा : जिल्लामा रासायनिक युरिया मलको चरम अभाव भएको छ । जिल्लाका प्राय सबै क्षेत्रको मकै बालीमा यतिबेला युरिया मल प्रयोग गर्ने बेला भएपनि मल नपाएपछि कृषकहरु चिन्तित बनेका छन् । सरकारले अनुदानमा भित्रयाउने युरिया मल नपाइदा कृषक मारमा परेका हुन् ।

जिल्लाकै कतिपय ठाउँमा अवैध रुपमा आयातित मल किसानले चर्को मूल्यमा किनेर प्रयोग गर्न बाध्य भएको पाइएको छ । ५० किलोको प्रति बोरा १ हजार २ सयमा आउने मल किसानहरु ३ हजार ५ सय रुपैयाँ सम्म हालेर किन्न बाध्य भएका छन् ।

अवैध रुपमा आएको मल पनि किसानले जहजै पाउँन नसकेको गुनासो गरेका छन् । सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका कृषक टिकाबहादुर बानियाँले एक त किरा लागेर समस्या भएको बेला त्यसमाथि कतै पनि मल नपाउँदा झनै चिन्ता थपिएको बताए ।

त्यस्तै,नगरपालिका १० की कृषक जिरकुमारी मगरले पनि मल नपाउँदा समस्या भएको बताइन् । चुनाव अघि नै स्थानीय ठेकेदार मार्फत मल मगाइएको भए पनि अहिलेसम्म मल नपाएको गुनासो गरिन् । अहिले जिल्लामा रहेका इजाजत प्राप्त सहकारी संस्थाहरुले समेत मल भित्रयाउन सकेका छैनन् ।

मल आयातका लागि धेरै अघि नै आवश्यक प्रक्रिया पूरा गरिएको भएपनि मल ल्याउन नसकिएको तलुवा महिला बहुउदेश्य कृषि सहकारीकी कोषाध्यक्ष सञ्जु श्रेष्ठले बताइन् । यसअघि मल निर्यात गरिरहेको आधिकारिक डिलरले यस पटक भने मल अभाव भएको भन्दै पठाउन नसकिएको जानकारी दिएको उनको भनाइ छ ।

सिद्धिचरण नगरपालिका कृषि विकाश शाखाका नायव प्राविधिक सहायक विरेन्द्र तामाङले मल आयातका लागि विशेष पहल गरिरहे पनि सम्बन्धित साल्ट ट्रेडिङ कर्पोरेशनमै मल नभएको भन्ने जानकारी आएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार