ओखलढुंगा जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसलाई स्पष्ट बहुमत प्राप्त


ओखलढुंगा : ओखलढुंगा जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेसलाई स्पष्ट बहुमत प्राप्त भएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि कांग्रेसले एकल बहुमत बनाएको हो ।
स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा नेपाली कांग्रेसको तर्फबाट ९ जना मतदाता छन् । एक नगरपालिकासहित सात गाउँपालिकाबाट १६ जना मतदातामध्ये नेपाली कांग्रेसको ९ जना मतदाता छन् ।

यसैगरी, नेकपा (एमाले)को पाँच, माओवादी केन्द्र र जनता समाजबादी पार्टीबाट एक–एक जना छन् । कांग्रेसले मानेभञ्ज्याङ र सुनकोशी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै जितेको छ । यसैबीच सिद्धिचरण नगरपालिकामा प्रमुख, खिजिदेम्बामा उपाध्यक्ष, चिशंखुगढीमा उपाध्यक्ष, लिखुमा अध्यक्ष र चम्पादेवी गाउँपालिकामा अध्यक्ष कांग्रेसले जितेको छ ।

यता, नेकपा एमालेले मोलुङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै लिखुमा उपाध्यक्ष, चम्पादेवी गाउँपालिकामा उपाध्यक्ष र सिद्धिचरण नगरपालिकामा उपप्रमुख जितेको छ । माओवादी केन्द्रले चिशंखुगढीको अध्यक्ष र जनता समाजबादी पार्टीले खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जितेको छ ।

यस अघि २०७४ सालमा पनि ओखलढुंगामा नेपाली कांग्रेस एक्लैले जिसस गठन गरेको थियो । जिल्लाका ७५ वडा मध्ये कांग्रेस ४५, एमाले २०, माओवादी केन्द्र ८ र जनता समाजवादी पार्टीले दुई वडा जितेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार