ओखलढुंगामा फौजी किराको प्रकोप बढ्यो

ओखलढुंगा : जिल्लाको खिजीदेम्बा गाउँपालिकाको विभिन्न वडामा फौजी किराको प्रकोप बढेको छ । खिजीदेम्बा वडा-५ खिजीफलाटे, वडा-६ भन्से, वडा-९ पात्ले लगायतका क्षेत्रमा किराले बालीनाली नष्ट पार्न थालेको हो ।

फौजी किराले भरर्खरै गोडी सकेको मकै, आलुलाई क्षति पुर्‍याएको खिजीदेम्बा ९ पात्लेका कृषक ग्यालु शेर्पाले जानकारी दिए । मकै सखाप पारेपछि आलु, हरियो घाँस र गहुँ समेत किराले नष्ट पार्न थालेको उनको भनाइ छ ।

फौजी किराको प्रकोप बढेको र नियन्त्रणका लागि स्थानीय तहसँग आग्रह गरेपनि खास पहल नभएको अर्का किसान आङ निमा शेर्पाले गुनासो गर्छन् ।

यता,गाउँपालिकाले भने गाउँपालिकासँग उपलब्ध भएको केही विषादी वितरण गर्ने काम भइरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख विनोद ढकालले बताए । निर्वाचनले गर्दा कार्यालयबाट सेवा प्रवाह गर्न कठिन भएकाले विषादी वितरण गर्न समस्या भएको उनको भनाइ छ । निर्वाचनको कार्यक्रम सम्पन्न भएकाले फौजी किरा नियन्त्रणका लागि स्थलगत अध्ययन, अनुगमन र विषादी वितरण तिब्र रुपमा अघि बढाउने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार