ओखलढुंगामा ६६ प्रतिशत मत खस्यो,आज रातीबाटै मतगणना

ओखलढुंगा : जिल्लामा आज ६६ प्रतिशत भन्दा बढी मत खसेको प्रारम्भीक तथ्याङ्क आएको छ । जिल्ला निर्वाचन अधिकृत प्रेम प्रसाद न्यौपाने ६६ प्रतिशत भन्दा बढी प्रतिशतले मत खसेको जानकारी दिए ।

‘पानी परेका कारण आज साँझ ६ बजेसम्म पनि केही ठाउँमा मतदान चलेकोले एकिन तथ्याङ्क आउन केही समय लाग्ने छ,६६ प्रतिशत भन्दा बढी प्रतिशतले मत खसेको अनुमान लगाएका छौँ,’उनले भने । उनका अनुसार जिल्लामा एक लाख १७ हजार मतदाता छन् ।

त्यस्तै,उनले एक मतदान स्थल बाहेक अन्य ठाउँमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए । जिल्लाको चम्पादेवी गाउँपालिका-९ मिश्रभञ्ज्याङ स्थित जिवनज्योती आविको मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि हवाई फायर भएको थियो ।  मतदानको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो ।

विवादले ठुलो रुप लिएपछि स्थिती नियन्त्रणका लागि ९ राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए । उनका अनुसार मत खसाल्नको लागि अशक्त मतदाता नरबहादुर श्रेष्ठले आफ्नो नातीलाई लगेपछि विवाद सुरु भएको थियो । सम्भवत आज रातीबाटै मतगणना थाल्ने योजना रहेको निर्वाचन अधिकृत न्यौपानेको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार