ओखलढुंगामा भोलि एक लाख भन्दा बढी मतदाताले भोट खसाल्दै,३ सय ९१ जना जनप्रतिनिधि चयन हुने

ओखलढुंगा : देशभर भोलि(शुक्रबार) स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि एकैसाथ मतदान हुँदैछ । यो स्थानीय तहको निर्वाचनमा यसपटक ओखलढुंगाबाट १ लाख १७ हजार ८५ जना मतदाताले आफ्नो स्थानीय तहमा आगामी पाँच बर्षका लागि जनप्रतिनिधि छनोट गर्नेछन् ।

निर्वाचनमा ओखलढुंगाका १ हजार २ सय ४० जनप्रतिनिधिमध्ये ३ सय ९१ जना जनप्रतिनिधि चयन हुनेछन् । मेयरदेखि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्ष र सदस्यगरि चुनावी मैदानमा कुल १ हजार २ सय ४० जना जनप्रतिनिधि उत्रिएका छन् ।

जिल्लामा सबैभन्दा धेरै सिद्धिचरण नगरपालिकामा १ सय ९४ जना उम्मेदवार चुनावी मैदानमा छन् भने सबैभन्दा कम चिंशखुगढी र मोलुङ गाउँपालिकामा समान १ सय ३६ जना चुनावी मैदानमा उत्रिएका छन् । ओखलढुंगामा एक नगरपालिका सहित आठ स्थानीय तह छन् । मतदानका लागि जिल्लामा ७९ वटा मतदान केन्द्रका १ सय ५० वटा मतदान स्थल निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आज १८ बर्ष पूरा भएका सबै मतदाताले भोलि हुने स्थानीय निर्वाचनमा मत खसाल्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यलयका निर्वाचन अधिकृत प्रेम प्रसाद न्यौपानेले त्यसका लागि मतदाता नामावलीमा नाम भने समेटेको हुुनुपर्ने जानकारी दिए । उनका अनुसार मतदाता सूचीमा नाम दर्ता भएकाहरुले भने मतदाता परिचय पत्र नभए पनि मत खसाल्न पाउने छन् ।

मतदाता परिचय पत्र हराएका तथा लिन नभ्याएका सबैलाई अन्य सरकारी कागजको आधारमा मत खसाल्न पाउने व्यवस्था गरिएको छ । जिल्लामा सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरि १ हजार ७ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

ठुलो आकारको मतपत्र रहेकाले मतदाता केही अन्यौलमा रहेको भन्दै सचेत भएर उत्साह पूर्वक मतदानमा सहभागि हुन सबैलाई न्यौपानेले आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार