दुई दिन बिदा दिने निर्णय शिक्षण संस्थामा पनि लागु, वर्षे र हिउँदे बिदा कटौती

काठमाडौं : सरकारको सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय अब शिक्षण संस्थामा पनि लागु हुने भएको छ । शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले हिउँदे र वर्षे बिदा कटौती गरी शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको हो ।

सरकारले यसअघि नै पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी मुद्रा सञ्चिति बढाउन भन्दै शनिबार र आइतबार दुई दिन शैक्षिक संस्थालाई समेत सार्वजनिक बिदा दिने निर्णय गरेपनि शिक्षण संस्थामा अन्योल कायमै थियो।

यसरी दुई दिन सार्वजनिक बिदा दिँदा समयमा कोर्ष नसकिने भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका थिए र यस बिषयमा मन्त्रालयमा छलफल चलेको थियो । मन्त्रालयका प्रवक्ता दिपक शर्माले कोर्स पूरा गराउन बिदा कटौती गरिएको जानकारी दिए ।

उनका अनुसार वर्षे र हिउँदे बिदा कटौती गरी अधिकतम ३० दिन बिदा कटौती गर्ने निर्णय भएको छ । उनले क्याम्पसको हकमा विश्वविद्यालयले समन्वय गर्ने र प्राविधिक विद्यालयको हकमा सिटिइभिटीले बिदाबारे निर्णय गर्नुपर्ने बताए । शैक्षिक क्यालेन्डरअनुसार वर्षभरि १ सय ८० दिन पठनपाठन सञ्चालन गर्नुपर्नेछ । यो निर्णय आगामी जेठ १ गतेदेखि लागू हुँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार