सरकारी सुविधा लिन्न, गाडी आफ्नै चढ्छु : गम्बु शेर्पा

ओखलढुंगा : जनता समाजवादी पार्टी नेपालको तर्फबाट खिजीदेम्बा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार गम्बु शेर्पाले विभिन्न घोषणाहरु गरेका छन् । उनले गाउँपालिकाबाट कुनै सरकारी सेवा सुविधा नलिने, गाडी समेत आफ्नै प्रयोग गर्ने घोषणा गरेका हुन् ।
‘गाउँपालिकाबाट प्राप्त हुने तलब, भत्ता लगायत कुनै सुविधा लिँदैनौं, गाडी समेत आफ्नै चड्छु ।’ उनले भने ‘गाउँपालिकाको गाडीलाई विरामी, बृद्धबृद्धाहरुको हितमा प्रयोग गर्न दिन्छु ।’
हालको व्यवस्था अनुसार ५ बर्षको अवधीमा ९ लाख रुपैयाँ भन्दा बढी सरकारी तलव भत्ता प्राप्त गर्न सकिने व्यवस्था रहेपनि उनले त्यसलाई स्थानीय विकास र जनताको आधारभूत आवश्यकता पूरा गर्नमा खर्चिने वताउँदै शेर्पाले जनताको कर र पसिनाबाट जम्मा भएको कोषलाई जनताकै लागि लगानी गर्ने बताए ।
उनले अघि भने ‘म गाउँपालिकाबाट सुखसुविधा भोग गरौंला, काठमाडौंमा जग्गा जोडौंला भनेर आएको हैन । मलाई दुई छाक खानाका लागि र सामान्य जीवन विताउनका लागि कुनै समस्या छैन ।’ निःस्वार्थ रुपमा ग्रामिण समुदायको हितमा बढीभन्दा बढी कसरी काम गर्न सकिन्छ भन्ने ध्याउन्नमा आफू रहेको बताउँदै जनता समाजवादी पार्टीका प्रदेश नं. १ का सदस्य समेत रहेका शेर्पाले आफ्नो जितले आर्थिक पारदर्शिता, गाउँपालिकाको आन्तरिक स्रोतको परिचालन, स्थानीयको आवश्यकता पहिचान गरी काम गर्ने बताए ।
सुशासन, चुस्त प्रशासनीक संयन्त्र निर्माण गर्दै जनतालाई तत्काल सेवा सुविधा उपलब्ध गराउने गरी काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार