सिन्धुपाल्चोक माओवादी केन्द्रमा शेर्पा रितियो

पासाङ शेर्पा
काठमाडौं (सार्वजनिक) । सिन्धुपाल्चोक नेकपा माओवादी केन्द्रमा आबद्ध ७३ जना शेर्पाले सामुहिक राजीनामा दिएका छन् । पार्टी दलालीकरण, नवधनाड्यहरुको पञ्जामा परेकाले यसबाट रुपान्तरण संभव नरहेको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरुमा भोटकोसी गाउँपालिका इन्चार्ज आङ छिरी शेर्पा, गाउँपालिकाका तत्कालिन उपाध्यक्ष दाबुटी शेर्पा, गाउँपालिका कमिटि अध्यक्ष लाक्पा शेर्पा, उपाध्यक्ष फुर्वा शेर्पा, वडा अध्यक्ष दीपेन्द्र कुमार श्रेष्ठ लगायत रहेका सामुहिक हस्ताक्षर भएको विज्ञप्तिमा नाम उल्लेख छ ।
लामो संघर्षबाट स्थापित पार्टी व्यक्तिवाद, स्वार्थ, आर्थिक दलालीकरणमा फसेर विधिपद्दती र नैतिक रुपमा गिर्दै गएको उल्लेख छ । उनीहरुले सामुहिक राजीनामा पत्रमा भनेका छन् ‘तहगत समितिले सर्वसम्मत निर्णय गरेको उम्मेदवारलाई टिकट दिनुको साटोमा नेतासँग स्वार्थ गाँसिएको र नजिककालाई उम्मेदवार बनाएर पठाउनु कदापी स्वीकार्य छैन ।’
पार्टीको आठौं महाधिवेशनले अघि सारेको वैज्ञानिक समाजवादको खिलापमा पार्टीका नेताहरु लागेकाले यसखाले प्रबृत्तिबाट परिवर्तन संस्थागत हुने संभावना नहरेकाले पार्टी परित्याग गरेको उनीहरुले उल्लेख गरेका छन् । राजीनामा दिने मध्ये दाबुटी शेर्पा भोटेकोसीमा अध्यक्षको आकांक्षी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार