बाढीबाट क्षति भएको १० महिनापछि उपत्यकामा पुन: मेलम्चीको पानी वितरण

काठमाडौं : काठमाडौं उपत्यकाभित्र बाढीले क्षति पुगेको १० महिनापछि मेलम्ची खानेपानी पुन: वितरण गरिएको छ । आइतबार खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) बानेश्वर शाखाको ट्यांकीको साँचो खोलेर पानी वितरण गरेका हुन् ।

गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको बाढीले खानेपानी आयोजनामाथि ठूलो क्षति पुगेको थियो । खानेपानी आयोजना सुरु भएको दुई दशकपछि २०७८चैत १५ मा पहिलोपटक पानी वितरण गरिएको थियो । तर,बाढीले क्षति पुगेपछि १० महिनासम्म उपत्यकामा पानी आएन ।

आयोजनामा भएको क्षति मर्मतपछि अहिले अस्थायी रुपमा पानी आएको छ । तर,असार र साउन महिनामा फेरी पानी बन्द गरिने मन्त्रालयले जनाएको छ ।

खानेपानी मन्त्री चौधरीले क्षतिग्रस्त आयोजनाको मर्मत गरी उपत्यकाबासीलाई पानी खुवाउने सरकारको बाचा पूरा गरेको बताउँदै भने,‘असार र साउनको समयमा बागमती नदीको पानी प्रशोधन गरेर वितरण गर्ने योजना बनाएका छौँ ।’ उनले मेलम्चीको पानी दीर्घकालीन रुपमा ल्याउन पहल भइरहेको बताए ।

केयुकेएलका निर्देशक मिलन शाक्यका अनुसार पूर्ण क्षमताअनुसार नै दैनिक १७ करोड लिटर पानी उपत्यकामा भित्रिएको छ । पहिला ९ वटा ट्यांकीबाट पानी वितरण गरेकोमा अबदेखि १० ठाउँका ट्यांकीबाट पानी एक लाख ७५ धारामा पानी पठाउने उनले बताए । उपभोक्ताहरुलाई समान ढंगले पानी वितरण गर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार