अक्सिजन प्लान्ट विस्फोट हुँदा दुई जनाको मृत्यु, छानबिन समिति गठन

काठमाडौं : ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ ।

विस्फोटमा परी २५ वर्षीय भारतीय नागरिक राजकुमार महतो र पश्चिम चम्पारण जिल्ला रतन पुरुवाका ४५ वर्षीय बृज महतोको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

अन्य पर्सा घर भई हाल लुभु चाँगाथली बस्ने वर्ष ४३ को रमेश अधिकारी, ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने वर्ष ३६ की दुर्गा पुरी, १९ वर्षका सुदीप तिमिल्सेना, २२ वर्षीय ईश्वर बजगाई र ओखलढुङ्गा घर भई हाल ललितपुर महालक्ष्मीस्थान बस्ने २० वर्षीया अञ्जना पौडेल घाइते भएका छन् ।

उनीहरुको पाटन अस्पतालमा सामान्य उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहिबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्रालिमा अक्सिजन भर्ने क्रममा अचानक विस्फोट भएको थियो ।

अक्सिजन विष्फोटको छानबिन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव चन्द्रकला पौडेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ। छानबिन गरी प्रतिवेदन ७ दिनभित्र बुझाउन निर्देशन दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार