दैनिक ९ सय बढीले लिन्छन् अध्ययन अनुमतिपत्र

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले अहिले दैनिक ९ सय बढीले अध्ययन अनुमतिपत्र (एनओसी) लिने गरेको जनाएको छ । वैदैशिक अध्ययन अनुमतिपत्र शाखाका उपसचिव हरिप्रसाद  निरौलाले पछिल्लो समय परिस्थिति सहज बन्दै गएपछि एनओसी लिनेको चाप बढेको जानकारी दिए ।

उनका अनुसार अनलाइन सेवा व्यवस्था सुरु भएदेखि हालसम्म १ लाखभन्दा बढी विद्यार्थीले एनओसी लिएका छन् । शिक्षा मन्त्रालयले २०७७ भदौ १२ गतेदेखि एनओसीको अनलाइन सेवा शुरु गरेको थियो।

‘कोभिडले पहिला अध्ययन अनुमतिपत्र लिन पाएनन्,अहिले भने लिनेको चाप बढेको छ,’अनुमतिपत्र शाखाका उपसचिव  निरौलाले भने ।

उनका अनुसार अनलाइन सेवा शुरु भएदेखि अष्ट्रेलियामा अध्ययन गर्न ४० हजार विद्यार्थीले एनओसी लिएका छन्। त्यसपछि जापानका लागि २३ हजारभन्दा बढीले एनओसी लिएका छन् ।

क्यानडाका लागि ६ हजार ५ सय, अमेरिकाका लागि ५ हजार, कोरियाका लागि ४ हजार,युक्रेनका लागि ८ सय १० जनाले एनओसी लिएका छन् ।

उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरू विदेश जाँदा वर्षेनी नेपालको खर्बौं धनराशी बाहिरिने गरेको छ । शैक्षिक परामर्शदाता संस्थाहरूका अनुसार शिक्षा हासिल गर्न बाहिर जाँदा एक विद्यार्थीको कम्तिमा १५ देखि २० लाख रूपैयाँ खर्च हुने गर्छ ।

यो हिसाबले १ लाखले मात्र एनओसी लिएको मानेर हिसाब गर्दा करिब २ खर्ब रूपैयाँ उच्च शिक्षाको नाममा पैसा विदेशिएको छ ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति पत्र शाखाका उपसचिव निरौलाले विदेशमा पढाइसँगै कमाउन पनि सकिने भएपछि पछिल्लो समय नेपालका विद्यार्थीहरू विदेशिने गरेको जानकारी दिए ।

‘विदेशमा गइसकेपछि कोर्ष थोरै भएकाले छिट्टै पढाइ सक्छन,पैसा पनि कमाउँछन्,त्यसैले पछिल्लो समय धेरै विदेश जाने गरेका छन्,’उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार