पढ्दै कमाउँदै कार्यक्रम : छनोट भएका विद्यालयले १० लाख पाउने,ओखलढुंगाबाट दुई विद्यालय छनोट

काठमाडौं : सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’का लागि छनोट भएका १ सय ४० सामुदायिक विद्यालयलाई १० लाखका दरले दिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार यो कार्यक्रमका लागि १४ करोड बजेट विनियोजन भएको छ ।

निर्देशक समितिको चैत ८ गते बसेको बैठकले पाँच सय १७ विद्यालयले प्रस्ताव पेश गरेकोमध्ये १ सय ४० विद्यालय छनोट गरेको थियो । जसमा ओखलढुंगाको दुई सामुदायिक विद्यालय पनि छनोटमा परेको छ ।

सुनकोशी गाउँपालिकाको प्रबुध्द मावि च्यानम र मोलुङ गाउँपालिकाको वरुणेश्वर मावि रामपुर छनोटमा परेको हो । छनोट भएका यी सबै विद्यालयहरुलाई छिट्टै रकम पठाउँने विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलले बताए ।

‘विद्यालयहरुले रकम प्राप्त गरेलगत्तै कार्यक्रम सुरु हुन्छ,’उनले भने । उनका अनुसार कृषि, पशुपालन, कम्युटर लगायत प्राविधिक धारका विद्यालयलाई मात्र छनोट गरिएको हो ।

शिक्षा मन्त्रालयले यो कार्यक्रमका लागि गत पुस २७ गते ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी गरिसकेको छ । कार्यविधिअनुसार छनोट भएका यी विद्यालयहरूले कृषि (बाली विज्ञान/पशु विज्ञान/बागवानी), इन्जिनियरिङ (सिभिल/इलेक्ट्रिकल/कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी कार्यक्रम चलाउन पाउनेछन् ।

‘वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यावसायिक कीट (मौरीपालन, च्याउखेती र रेशमखेती) गर्न विद्यालयहरूले सशर्त अनुदान पाउनेछन्,’विकास केन्द्रका प्रवक्ता लुइँटेलले भने ।

गत भदौमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसद्मा पेश गर्दै प्राविधिक विधामा अध्ययन गर्ने कक्षा–१२ सम्मका विद्यार्थीलाई यो कार्यक्रम सबै प्रदेशका केही विद्यालयमा नमुनाका रूपमा शुरुवात गरिने घोषणा गरेका थिए ।

विकास केन्द्रका अनुसार यो कार्यक्रममा कक्षा ९देखि १२ सम्मका विद्यार्थीहरुले भाग लिन पाउने छन् । कार्यक्रमबाट विद्यार्थीहरुले पढ्दै आर्थिक लाभ पनि प्राप्त गर्ने विकास केन्द्रका प्रवक्ता लुइँटेलको भनाइ छ । यो कार्यक्रम प्रभावकारी भए आगामी बजेटमा थप रकम विनियोजन गर्ने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार