क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन जना पक्राउ

काठमाडौं : प्रहरीले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन युवालाई पक्राउ गरेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय कारोबार गर्न जारी नियम, विनिमय, निर्देशन र आदेश विपरीत क्रिप्टोकरेन्सी कारोबारमा सक्रिय रहेका गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका-१ घर भइ हाल काठमाडौं सोह्रखुट्टेमा बस्ने २२ वर्षका अनुप मिश्र, काभ्रेपलान्चोक पनौती नगरपालिका-१ का २४ वर्षीय दिपेश थापा र बाफलका २७ वर्षीय राहुल चचान रहेका छन् ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरु आइतबार र सोमबार काठमाडौंको महाबौद्ध, न्यू रोड र कलंकीबाट पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुमाथि अनुसन्धान गर्दा हालसम्म ६६ करोड ७९ लाख ७९ हजार ९ सय रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको देखिएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार