सरकारले यो वर्ष सात जिल्ला साक्षर घोषणा गर्दै

काठमाडौं : शिक्षा,तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले यो वर्ष ७ वटा जिल्ला साक्षर घोषणा गर्ने लक्ष्य लिएको छ । विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलका अनुसार हालसम्म ५७ जिल्ला साक्षर घोषणा भइसकेकोमा अब थप यो वर्षमा ७ जिल्ला साक्षर घोषणा गरिने छ ।

यो वर्षभित्रमा लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके, सुदुरपश्चिम प्रदेशको बाजुरा, डोटी, बझाङ, कैलाली र कञ्चनपुर गरी ७ जिल्ला साक्षर घोषणा गर्ने उनले जानकारी दिए । उनका अनुसार साक्षर घोषणा गर्दा जिल्लाको कूल जनसंख्याको ९५ प्रतिशत माथि साक्षर हुनुपर्छ ।

निरक्षरलाई साक्षर बनाउन स्थानीय तहबाट प्रौढ शिक्षा पनि सञ्चालन गर्दै आएको उनको भनाई छ । ‘निरक्षर जिल्लामा प्रौढ शिक्षा सञ्चालन गर्न वर्षेनी सरकारले १० लाखसम्म बजेट विनियोजन गर्दै आएको छ,त्यसैले बाँकी २० जिल्ला पनि छिट्टै साक्षर घोषणा गरिने छ,’विकास केन्द्रका प्रवक्ता लुइँटेलले भने ।

सरकारले निरक्षरता उन्मूलन गर्ने घोषणासहित आव २०६५/६६ सालबाट यो अभियान सुरु गरे पनि हालसम्म पूरा जिल्ला साक्षर घोषणा हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार